दोलखा, माघ ४
दोलखाको कालिञ्चोक मन्दिर क्षेत्रमा  बिहिबाररातीदेखि लगातार हिमपात भइरहेको छ । लगातारको हिमपातका कारण अत्यधिक  चिसो बढे पनि कालिञ्चोकको कुरी क्षेत्रमा झण्डै चार हजार पर्यटक रमाईरहेको  सुनपाति होटलका सञ्चालक हरि ओलीले बताउनुभयो ।
तीन हजार आठ सय ४२ मीटरको उचाईमा रहेको  कालिञ्चोकमा पुषदेखि चैत्रसम्म अत्याधिक हिमपात हुने भएकोले लाखौँ पर्यटक  पुग्ने गरेका छन् । कालिञ्चोकको कुरी क्षेत्रमा रहेका ५० भन्दा बढी साना  तथा ठूला होटलहरु बिहिबार दिउँसोदेखि नै भरीएको ओलीले बताउनुभयो ।
शुक्रबार र शनिबार त्यसै पनि मानिसहरुको  उपस्थिति उल्लेख्य हुने गरेकोमा हिमपात भएपछि कुरीका कुनै पनि होटलहरु खाली  नहुने स्थानीय बताउछन् । महत्वपूर्ण धार्मिक गन्तव्यको रुपमा रहेको  कालिञ्चोकको चुचुराबाट हिमश्रृङ्खला र हिउँले ढाकिएको सुन्दर पहाडहरु  देखिने भएकोले हिमपातको मौसममा अत्याधिक पर्यटक पुग्ने गरेको होटल  व्यवसायीहरुको भनाई छ ।
कालिञ्चोक र कुरी क्षेत्र आसपास झण्डै चार  फिट हिउँ जमिसकेको स्थानीय बताउछन् । काठमाडौँबाट चरिकोट एक सय ३३  किलोमीटर र चरिकोटबाट कालिञ्चोक १७ किलोमीटरको दूरीमा रहेको छ ।  काठमाडौँबाट नजिक तर रोमाञ्चक हिम पहाडले ढाकिने स्थान भएकोले पनि  कालिञ्चोकमा हिमपातको मौसममा अत्याधिक पर्यटक पुग्ने गरेका छन् ।
हिमपातका कारण चरिकोटबाट गैरीसम्ममात्र  यातायात सञ्चालन भएको र गैरीबाट चेन भएका केही बोलेरोले मानिस ओसारी रहेको छ  । लामोसाँगु जिरी सडकखण्डमा पर्ने दोलखाको खरीढुङ्गा क्षेत्रमा पनि  शुक्रबार बिहानैदेखि हिमपात भइरहेको भएपनि यातायात चलिरहेको छ ।


No comments:
Post a Comment